समयभन्दा एक वर्ष अघि सम्पन्न रुम्टाखोला पुल: दक्षिण बागलुङका बासिन्दा हर्षित
बागलुङ । विकास निर्माणमा ढिलाइ र लापरबाहीका समाचारबीच दक्षिण बागलुङको जैमिनी नगरपालिकामा भने एक सुखद उदाहरण देखिएको छ—रुम्टाखोला पुल निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न भएको छ।
कुश्मिसेरा बजारदेखि बरेङ गाउँपालिका हुँदै गुल्मीको शान्तिपुर जोड्ने कुस्मीसेरा–बरेङ–शान्तिपुर सडकखण्डअन्तर्गत जैमिनी–९ पैयुँथन्थाप र वडा नं. १० राङखानीलाई जोड्ने यो पुल २०८३ वैशाख १० गते सम्पन्न गर्ने लक्ष्य थियो। तर, ठेकेदार कम्पनी सूर्योदय कन्स्ट्रक्सन, पर्वतले २०८१ वैशाख ११ गते सम्झौता गरी ६ करोड ९ लाख ४६ हजार ३ सय ६७ रुपैयाँको लागतमा सुरु गरेको कामलाई पर्याप्त मजदुर परिचालन गर्दै निरन्तरता दिएपछि निर्धारित समयभन्दा एक वर्षअघि नै पुल निर्माण सम्पन्न गरियो।
गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत निर्माण गरिएको पुल अहिले अन्तिम चरणमा छ, जसमा मेसिनरी वाल र ग्याबिन जाली भरिने काम भइरहेको छ।
पुल निर्माणसँगै बर्खायाममा देखिने सवारी आवागमनको अवरोध अन्त्य भएको छ। पुल नहुँदा वर्षामा उर्लिदो भेलमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने, यहाँसम्म कि मोटरसाइकल बग्ने घटनासमेत हुने गरेको स्थानीय मित्र थापाले बताए। अब भने वर्षायाममा पनि सुरक्षित र सहज यात्राको बाटो खुलेको उनको भनाइ छ।
यो पुलले केवल आवतजावत मात्र होइन, कृषिजन्य वस्तुको ढुवानीमा पनि सहजता ल्याएको छ। राङखानी क्षेत्र व्यावसायिक कृषि क्षेत्र भएकाले विगतमा बर्खामा तरकारी बजारसम्म पुर्याउन नसकी कुहाएर फाल्नुपर्ने अवस्था थियो। पुल बनेपछि समय र दुरी दुवै घटेको कृषक थापाले बताए।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार, पुलले दक्षिण बागलुङका साथै गुल्मीका नागरिकलाई पनि आवागमनमा ठूलो राहत दिएको छ। २०६५ सालमा सडक सञ्चालनमा आए पनि रुम्टाखोलामा पुल नहुँदा पैयुँथन्थाप, राङखानी र बरेङका बासिन्दाले वर्षायाममा दशौं वर्षसम्म सास्ती खेप्दै आएका थिए।







प्रतिक्रिया (0)