कञ्चनपुरमा छाउपडीमुक्त अभियान तीव्र: ३९ छाउगोठ भत्काइँदै , महिलाको सुरक्षित बसोबासतर्फ कदम
कञ्चनपुर । कञ्चनपुरमा छाउपडी प्रथाविरुद्धको अभियानलाई तीव्र पार्दै ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिका–१ मा १६ वटा छाउगोठ भत्काइएको हो।
बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजार क्षेत्रमा स्थानीय जनप्रतिनिधि, सङ्घसंस्था, प्रहरी र सर्वसाधारणको सक्रिय सहभागितामा छाउगोठ भत्काइएका हुन्। गत असारमा कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईको छाउगोठमा बस्दा सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो।
बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्टले भत्काइएका परिवारलाई सचेतना अभिमुखीकरण गर्ने तयारी भइरहेको बताए। “छाउगोठ भत्काएर मात्रै पुग्दैन, यसलाई पुनः निर्माण हुन नदिने वातावरण बनाउनुपर्छ,” उनले भने।
कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले पनि वडामा १६ वटा छाउगोठ भत्काइएको र स्थानीयहरूमा सचेतना बढेको बताए। अघिल्लो वर्ष सुरु गरिएको अभियान अवरोधका कारण रोकिएको भए पनि हाल सहकार्य र समर्थनका साथ अघि बढिरहेको उनले बताए।
नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए कानुनी कारबाही र १० हजार रुपैयाँ जरिवानाको चेतावनी दिएको थियो। स्थानीय तह, प्रहरी र समुदायको सहकार्यमा अघि बढेको यो अभियानले छाउपडी प्रथा अन्त्य र महिलाको सुरक्षित बसोबासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।







प्रतिक्रिया (0)