बाँकेमा एकैपटक ९ पुल निर्माण, चार सम्पन्न र पाँच चालु आवमै पूरा हुने
बाँके । लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा एकैपटक ९ वटा पुल निर्माणको कार्य अघि बढाएको छ। करिब ५१ करोड रुपैयाँ लागतमा बन्ने यी पुलमध्ये चारको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी पाँच चालु आर्थिक वर्षभित्र पूरा हुने सडक पूर्वाधार कार्यालय बाँकेले जनाएको छ।
कार्यालयका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा जेठीनाला–बनखेत पुल र परस्पुर–गौघाट सडक खण्डको किरण नाला पुल सम्पन्न भएका थिए। त्यस्तै, २०८१/८२ मा खजुरा–३ स्थित गडगैचा पुल र बैजनाथ–४ स्थित जेठीनाला पुल निर्माण सम्पन्न भयो।
हाल निर्माणाधीन पाँच पुलमध्ये, जानकी गाउँपालिका–४ जोड्ने खजुरा–४ सिर्जना टोल–चल्तुवास्थित किरण नाला पुल, पिप्रहवा–जयसपुर–साईगाउँ–राधापुर जोड्ने किरण नाला पुल, र राप्तीसोनारी–९ अर्गानिकदेखि तल्लो खैरेनी जोड्ने पुल चालु आव २०८२/८३ मा सम्पन्न हुने लक्ष्य छ।
सडक पूर्वाधार कार्यालयका प्रमुख दीपक खड्काका अनुसार, निर्माणाधीन सबै पुलमा ढलानको काम सकिएको छ र चालु आवमै निर्माण सम्पन्न हुनेछ। उनका अनुसार, केही पुलमा निर्माण व्यवसायीले ढिलाइ गरेपछि बारम्बार ताकेता र कारबाहीको प्रक्रिया अघि बढाएपछि काम अन्तिम चरणमा पुगेको हो।
चल्तुवा र सिर्जना टोलस्थित किरण नाला पुल पनि अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ।







प्रतिक्रिया (0)