ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा सेवा ढोकैमा

राम्रो पालिका संवाददाता 31

मुक्तिनाथ (मुस्ताङ) । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, पाङ्लिङगाउँका ९१ वर्षीय ठकुरी नेवाङले सामाजिक सुरक्षा भत्ता परिचयपत्र घरमै नवीकरण गर्न पाएपछि उत्साहित भए । वर्षायाममा वडा कार्यालयसम्म पुग्न नसक्ने अवस्थामा वडाध्यक्ष कर्मघ्यचो गुरुङसहितको टोली सेवा लिएर घरमै पुगेको हो ।

यस्तै, कागबेनीकी ९९ वर्षीय शेर साङ्मो गुरुङले पनि जनप्रतिनिधि र कर्मचारीबाट घरदैलोमै सेवा प्राप्त गरिन् । ज्येष्ठ नागरिक, अशक्त र असहायलाई लक्षित गर्दै वडा कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, अनुदान फाराम तथा नागरिकताको सिफारिस जस्ता सेवा उपलब्ध गराउन थालेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उनका अनुसार गाउँमै पुगेर सेवा दिँदा वृद्धवृद्धाले स्थानीय सरकारको अनुभूति मात्र होइन, खर्च र समयको बचत पनि गर्न पाएका छन् । हाल वडा–४ मा ९८ जना सामाजिक सुरक्षा भत्ता प्राप्तकर्ता रहेका छन् ।

पाङ्लिङगाउँका १०१ वर्षीय सम्देङ ठकुरीसहित करिब २० जना लाभग्राही हाल पोखरा र काठमाडौंमा बसोबास गर्ने भएकाले त्यहाँ समेत घरदैलोमै सेवा दिने तयारी भइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

मुस्ताङका थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाले पनि जिल्लाबाहिर बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त तथा बिरामी लाभग्राहीलाई वडाध्यक्ष र सचिवमार्फत घरदैलोमै पुगेर परिचयपत्र सम्बन्धी समस्या समाधान गर्दै आएका छन् ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *