महोत्तरीको मटिहानी नगरपालिकाद्वारा छात्राहरुलाई साइकल वितरण
महोत्तरी । उच्च शिक्षामा छात्राको पहुँच बढाउन तथा विद्यालयमा नियमित उपस्थिती सुनिश्चित गर्ने उद्देश्यले महोत्तरीको मटिहानी नगरपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ।
नगरपालिकाले अधिनस्त श्रीराम माध्यमिक विद्यालय, मटिहानीमा कक्षा ११ मा अध्ययनरत ५८ जना छात्रालाई साइकल वितरण गरेको हो। नगरप्रमुख हरिप्रसाद मण्डल र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले संयुक्त रूपमा साइकल हस्तान्तरण गर्नुभयो।
नगरप्रमुख मण्डलका अनुसार मटिहानी मात्र नभई आसपासका गाउँपालिका र छिमेकी जिल्लाबाट समेत छात्रा सो विद्यालयमा अध्ययन गर्न आउने भएकाले उनीहरूको नियमितता बढाउन साइकल वितरण गरिएको हो। सात वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यस कार्यक्रमले छात्रा भर्ना दर बढाउँदै लगेको उनले उल्लेख गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिसालले नगरपालिकाले शिक्षामा गरिरहेको लगानीको प्रशंसा गर्दै साइकल वितरणले विद्यार्थीलाई नियमित अध्ययनमा सहयोग पुग्ने बताए। उनले यसअघि मात्रै नगरपालिकाले प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई ल्यापटप वितरण गरेको स्मरण गराउँदै शिक्षामा निरन्तर ध्यान दिन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक श्रीशकुमार मिश्राले कक्षा ११ का ५८ जना छात्रालाई साइकल वितरण गरिएको जानकारी दिए।
साइकल वितरण कार्यक्रममा प्रहरी उपरीक्षक हेरम्ब शर्मा, वडाध्यक्षहरू, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, विभिन्न विद्यालयका प्राचार्य, राजनीतिक दलका प्रतिनिधि, शिक्षक तथा अभिभावकको उपस्थिति रहेको थियो।







प्रतिक्रिया (0)