हुम्लामा आमा र शिशुलाई पोषण तथा सरसफाई सामग्री सहयोग
हुम्ला । खार्पुनाथ गाउँपालिकाले सुनौलो हजार दिनका आमा र शिशुको स्वास्थ्य र पोषण सुधारका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिका स्वास्थ्य शाखाले आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र सरसफाईका सामग्री वितरण गरेको हो।
गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख हरिभक्त शाहीका अनुसार, सो उमेर समूहका आमा र शिशुको पोषण सुधार र सरसफाई सहज बनाउन वार्षिक कार्यक्रमअनुसार सामग्री वितरण गरिएको हो। यस वर्ष गाउँपालिकाभर २११ जना आमा र २११ जना शिशुलाई सहयोग गरिएको छ।
वितरण गरिएका पोषण सामग्रीमा घ्यू, मार्सी चामल, अण्डा, हर्लिक्स, चेवनप्रास रहेका छन् भने सरसफाईका सामग्रीमा साबुन, बाटा र बाल्टी रहेका छन्। साथै, ग्रीनहाउस निर्माणका लागि पाल र गार्डेन पाइप पनि उपलब्ध गराइएको छ।
खार्पुनाथ गाउँपालिका –२ को थाली स्वास्थ्य चौकी इन्चार्ज बीरसिंह रावलले भने, “३५ जना आमा र शिशुलाई पोषण तथा सरसफाईका सामग्री उपलब्ध गराइएको छ। यसले महिला र शिशु दुवैको सन्तुष्टि बढाएको छ।”
गाउँपालिकाको यो पहलले आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउने र उनीहरूलाई कुपोषण तथा सरसफाईसम्बन्धी जोखिमबाट बचाउने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया (0)