चितवनको टिकौली जंगलमा वन्यजन्तुमैत्री ‘फ्लाई ओभर’ निर्माण गरिने

राम्रो पालिका 26

काठमाडौँ । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डको विस्तारसँगै चितवनको टिकौली जंगल क्षेत्रमा वन्यजन्तुमैत्री ‘फ्लाई ओभर’ निर्माण गर्ने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको संवेदनशील क्षेत्र मानिने टिकौली जंगलमा वन्यजन्तुको सुरक्षालाई ध्यानमा राख्दै करिब ७ अर्ब रुपैयाँको लागतमा २ किलोमिटर लामो फ्लाई ओभर निर्माण गरिन लागिएको हो । 

आयोजना निर्देशनालय एडीबीका निर्देशक चूडाराज ढकालले चितवन राष्ट्रिय निकुञ्जको टिकौली जंगल क्षेत्रमा वन्यजन्तुको सुरक्षालाई ध्यानमा राख्दै ‘फ्लाई ओभर’ निर्माण गरिने ढकालले जानकारी बताए । आयोजना निर्देशक ढकालका अनुसार करिब २ किलोमिटर लामो उक्त संरचना निर्माणको तयारी भइरहेको छ । 

Laxmi sunrise bank

वन्यजन्तु जोगाउन ‘विशेष’ संरचना

Shivam Cement

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको टिकौली जंगल क्षेत्र ‘बरण्डाभार करिडोर’ हो । यहाँ सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने र सवारी दुर्घटनामा मानवीय क्षति समेत हुने जोखिम उच्च छ । युनेस्को र डब्लुडब्लुएफले समेत संवेदनशील क्षेत्र भएकाले वन्यजन्तु मैत्री संरचना नबनाई सडक विस्तार गर्न नहुने अडान राखेपछि सरकारले यहाँ फ्लाई ओभर निर्माण गर्न लागेको निर्देशक ढकाल बताउँछन् । 

Nabil bank

आयोजना निर्देशक ढकालले भने, ‘वन मन्त्रालयले सुरुमा जंगलको वारपार ३ हजार ८ सय मिटर नै फ्लाई ओभर बनाउनुपर्ने प्रस्ताव गरेको थियो । तर, लामो छलफलपछि अहिलेलाई २ किलोमिटर फ्लाई ओभर बनाउने र बाँकी क्षेत्रमा जनावर छिर्न नसक्ने गरी बार लगाउने सहमति भएको छ ।’ 

यति लामो फ्लाइओभर पहिलोपटक संरक्षित क्षेत्रभित्र निर्माण गर्न लागिएको उनको भनाइ छ । 

फ्लाईओभरको आधा लागत एडीबीले अनुदान दिने 

यो ‘फ्लाई ओभर’ निर्माणका लागि करिब ७ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । यसमा एसियाली विकास बैंक (एडीबी) को लगानी रहनेछ । नेपाल सरकारले वन्यजन्तु संरक्षणका लागि बन्न लागेको यो महँगो संरचना अनुदानमा बनाउन प्रस्ताव गरेको थियो । सोही अनुरुप एडीबीले करिब २० मिलियन डलर (करिब तीन अर्ब रुपैयाँ बराबर) अनुदान उपलब्ध गराउने समझदारी भएको उनले बताए  । ‘२० मिलियन डलर एडीबीले अनुदान दिने र बाँकी रकम एडीबीकै सहुलियतपूर्ण ऋण मार्फत व्यवस्थापन हुन्छ’ उनले भने । 

लागत महँगो भए पनि यो फ्लाइओभरले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा छ । 

कस्तो बन्नेछ फ्लाई ओभर ? 

ढकालका अनुसार उक्त फ्लाई ओभरमा दुईवटा समानान्तर (पारलेल) संरचना हुनेछन्, जसमा एकतर्फी आउने र अर्कोतर्फी जाने सवारी चल्नेछन् । हालको डिजाइन अनुसार साइकल र अन्य सवारी वारपार गर्न छुट्टै लेन हुनेछ । यसमा साइकल लेन र पैदल यात्री हिँड्न मिल्ने व्यवस्था पनि गरिनेछ । भविष्यमा सवारी चाप बढेको खण्डमा यसलाई तीन लेनसम्म विस्तार गर्न मिल्ने गरी डिजाइन भइरहेको छ । 

‘फ्लाइओभर ३–३ लेनको बन्नेछ,’ उनले भने, ‘जसमा दुवैतर्फ १–१ लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने खालको बन्छ, बाँकी ४ लेनमा २–२ लेनमा दुवैतर्फ सवारी ओहरदोहोर गर्नेछन् ।’ 

फ्लाइओभरमा ६७ वटा त पिलर मात्र रहनेछन्  । ‘फ्लाइओभर माथिबाट सवारीसाधन गुड्नेछन् भने त्यसको तलबाट वन्यजन्तु ओहरदोहोर गर्नेछन्,’ उनले भने, ’वन्यजन्तुको सुरक्षाका लागि नै यस्तो फ्लाइओभर निर्माण गर्न लागिएको हो । टिकौली जंगलमा सवारीसाधनको ठक्करबाट धेरै वन्यजन्तु मर्ने गरेका छन् । 

माघ–फागुनसम्म ठेक्का प्रक्रिया अघि बढाउने तयारी 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डमा विस्तार गर्ने भएको छ । एडीबीको सहुलयितपूर्ण ऋणमा मुख्य सडक ४ लेन र बजार क्षेत्रमा सर्भिसलेनसहित ८ लेन सडकमा विस्तार गरिने सडक विभाग अन्तर्गत, आयोजना निर्देशनालय एडीबीले जनाएको छ। साथै उक्त खण्डमा सडक  सीमाभित्रका संरचना हटाउनसमेत सूचना जारी गरिसकेको छ ।

हेटौँडादेखि नारायणगढसम्म ७० किलोमिटर सडकखण्डको स्तरोन्नति गर्न लागिएकोहाल यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको अन्तिम चरणमा रहेको छ भने डिजाइनको काम पनि भइरहेको छ । सबै प्रक्रिया पूरा गरेर आगामी फेब्रुअरी (माघ–फागुन) तिर ठेक्का आह्वान गर्ने आयोजनाको तयारी छ । 

एडीबीको मुख्य कार्यालयले नियुक्त गरेको विदेशी परामर्शदाता टोलीले यसको डिजाइन र अध्ययन गरिरहेको छ । चितवन पर्यटनको राजधानी र पूर्व–पश्चिम राजमार्गको मुख्य खण्ड भएकाले पनि यो आयोजनालाई प्राथमिकताका साथ अघि बढाइएको निर्देशनालयले जनाएको छ ।

यस्तै एडीबी निर्देशनालयकाअनुसार मुग्लिन–आँबुखैरेनी खण्डमा सडक स्तरोन्नतिका लागि ठेक्का गरिँदै छ । आँबुखैरेनी र नारायणगढ–हेटौंडा खण्डको काम गर्न ५३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यो एडीबीको सहुलियत ऋणमा विस्तार गर्न लागिएको हो । मुग्लिनदेखि आँबुखैरेनी सडक साढे ८ किलोमिटर २–२ लेन सडकमा विस्तार गर्न लागिएको छ । 

मुग्लिन बजार नजिकै त्रिशूलीमा र मस्र्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै १–१ वटा पक्की पुल बनाउने गरी डिजाइन गरिएको छ । मर्स्याङ्दी पावर हाउसभन्दा ४०० मिटर पर पुल बन्नेछ । त्यसपछि जामुनेसम्म ४ लेन सडक निर्माण गरिने जनाइएको छ । त्यसैगरी बाराको पथलैयादेखि नारायणगढसम्मको १०० किलोमिटर सडक विस्तारका लागि डिजाइनको काम भइसकेको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *