काठमाडौं महानगर कक्षा ११ र १२ छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ मा आफ्ना मातहतका संस्थागत शिक्षण संस्थाका कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गराउनका लागि आइतबार सो परीक्षा सञ्चालन गरेको हो ।
परीक्षा समितिले न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई समेटेर प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरेको छ ।महानगरपालिकाले परीक्षाको नतिजा अनलाइन प्रणालीमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ । विद्यार्थीहरूले आफूले अनलाइन फाराम भरेको पोर्टलमा गएर आफ्नो रोल नम्बर, जन्ममिति र मोबाइल वा इमेलमा प्राप्त भएको पासवर्ड राखी नतिजा सहजै हेर्न सक्नेछन् ।
महानगरका शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार यो प्रारम्भिक नतिजा भएकाले चित्त नबुझेमा विद्यार्थीहरूले पुनर्योगका लागि आवेदन दिन सक्नेछन् । परीक्षामा चित्त नबुझ्ने विद्यार्थीले एक हजार रुपैयाँ राजस्व दाखिला गरी प्रवेश पत्रको प्रतिलिपिसहित जेठ २० गते कार्यालय समयभित्र शिक्षा विभागमा निवेदन दिनुपर्ने महानगरले जनाएको छ ।
संयोजक ढकालका अनुसार यस वर्षको परीक्षामा उच्चतम अङ्क ९२ प्राप्त गरेर एक जना विद्यार्थी प्रथम भएका छन् । त्यसैगरी, दोस्रो उच्चतम अङ्क ९१ प्राप्त गर्नेमा एक जना र तेस्रो स्थानमा ९० अङ्क प्राप्त गर्ने पाँच जना विद्यार्थी रहेका छन् ।
महानगरपालिकाले छात्रवृत्तिमा अध्ययन गर्ने योग्य विद्यार्थी छनोटका लागि गत जेठ ३ गते सूचना प्रकाशन गरेको थियो । यस प्रक्रियाका लागि ८३ वटा परीक्षा केन्द्रहरू तोकिएका थिए, जहाँ परीक्षा मर्यादित रूपमा सम्पन्न भएको थियो ।परीक्षाका लागि अनलाइन प्रणालीमार्फत १६ हजार ५४९ छात्र, १० हजार ३३३ छात्रा र छ जना अन्य गरी कुल २६ हजार ८८८ जना विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएकोमा २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएको महानगरले जनाएको छ ।







प्रतिक्रिया (0)