काभ्रेको खानीखोलामा बृहत् सांस्कृतिक सोनाम ल्होछार कार्यक्रम आयोजना

राम्रो पालिका संवाददाता 68

काभ्रे। सोनाम ल्होछारको अवसरमा काभ्रेको खानीखोला गाउँपालिकामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

बौद्धमार्गी तामाङ समुदायको सांकृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा काभ्रेको डाँडापारिस्थित खानीखोला गाउँपालिकाको सहयोगमा नेपाल तामाङ घेदुङ खानीखोला गाउँपालिका समितिले मंगलबार कार्यक्रम गरेको हो ।

बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बहुधार्मिक बहुसांस्कृतिक विभिन्न विविधता भएको राष्ट्र भएकोले यो पर्व मुख्य पर्वको रुपमा तामाङ समुदायहरुले मनाउँदै आएको बताउनुभयो ।

संस्कृतिको संरक्षण गर्नु आफ्नो संस्कारलाई जोगाएर पहिचान झल्काउनु नै अहिलेको प्राथमिकताको विषय भएको बताउनुभयो । उहाँका अनुसार, यसको संरक्षण गर्न अब तामाङ समुदाय एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ । यसको संरक्षण गर्न प्रदेश सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले पालिकामा रहेका सबै समुदायका कला, संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको तामाङ्हरुले मनाउने ल्होछार माझी समुदायको लदि पर्व, मगरहरुको मागेसंक्रान्ती, गुरुङहरुको तमु ल्होछार लगाएत विभिन्न संस्कृतिहरुलाइ संरक्षण तथा सम्बद्र्धन गर्नका लागि सहयोग गर्दै आएको र भोलिका दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मञ्जुश्री पात्रोअनुसार यो वर्ष मनाउने सोनाम ल्होछार २८६१ डुल (सा पुख्री) ल्हो हो । जुन तिथि अनुसार माघ १७ गते परेको छ । ल्होछार पर्व मनाउनका लागि खानीखोला गाउँपालिकाको माघ ७ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिएको छ । पालिकाले १६, १७ र १८ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

साथै जिल्लाको महाभारत, रोशी, चौरीदेउराली, तेमाल, भुम्लु, बेथानचोक गाउँपालिका, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिकाले पनि सोनाम ल्होछारको अवसरमा १६, १७ र १८ गते ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएका छन् । तस्वीर : एनटिभीअनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *