बाँझो जमिन सदुपयोग र मौरीपालन प्रवर्द्धनका लागि पोखरा महानगरले सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा बाँड्ने

राम्रो पालिका 1

काठमाडौं । पोखरा महानगरपालिकाले कृषि उत्पादन बढाउन र बाँझो जमिनको सदुपयोग गर्न किसानहरूलाई अनुदानमा सिप्लिकान र चिउरीका बिरुवा वितरण गर्ने तयारी गरेको छ ।

खासगरी बाँदर प्रभावित क्षेत्रका बाँझो जमिन उपयोग गर्न र महानगरभित्र फस्टाउँदो क्रममा रहेको मौरीपालन व्यवसायलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिकाले यो कार्यक्रम अघि सारेको हो । बिरुवा वितरणका लागि महानगरपालिकाअन्तर्गत कृषि विकास शाखाले यही जेठ २१ गतेसम्म किसानहरूबाट माग सङ्कलन गरिरहेको छ । कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले किसानहरूबाट आउने मागकै आधारमा अनुदानमा बिरुवा उपलब्ध गराइने जानकारी दिएका छन् ।

पछिल्लो समय खेतीयोग्य जमिन बाँझो रहने र कृषि बालीमा बाँदरले ठुलो क्षति पुर्‍याउने समस्या बढ्दै गएकाले महानगरले औषधीय गुणयुक्त सिप्लिकानको खेतीलाई जोड दिएको हो । कृषि प्रमुख कडरियाका अनुसार तरकारीका लागि उपयोग गर्न सकिने सिप्लीकानलाई बाँदरले समेत क्षति नपुर्‍याउने भएकाले यो बाँझो जग्गाहरूमा निकै उपयोगी र लाभदायक साबित हुन्छ ।सिप्लिकानसँगै पोखरामा मौरीपालनतर्फ किसानहरूको आकर्षण बढिरहेका कारण त्यसलाई सहयोग पुर्‍याउने उद्देश्यले चिउरीका बिरुवा पनि अनुदानमा उपलब्ध गराउन लागिएको हो ।

हाल पोखरा महानगर क्षेत्रमा १५ हजारदेखि २० हजारसम्म मौरीका घारहरू रहेको जानकारी दिँदै प्रमुख कडरियाले चिउरीका बिरुवाले मौरीपालन व्यवसायलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *