ललितपुरको सडकमा ‘वातावरण भ्यान’: के हो यो भ्यान टोलीको काम ?
काठमाडौं । ललितपुर महानगरपालिकाले नगरको सरसफाइ र वातावरणीय सुधारका लागि सञ्चालनमा ल्याएको ‘वातावरण भ्यान’ अहिले सहरको अनुशासन कायम गराउने मुख्य आधार बनेको छ । मेयर चिरीबाबु महर्जनले सुरु गरेको यो अभियान केवल उद्घाटनमा मात्र सीमित नभई अहिले नगरका हरेक टोल र गल्लीमा सक्रिय देखिन थालेको छ । वातावरण प्रहरीको विशेष टोलीसहित परिचालन हुने यो भ्यानले नगरभित्र हुने सानादेखि ठूला वातावरणीय लापरबाहीलाई सूक्ष्म ढंगले निगरानी गरिरहेको छ ।
विशेषगरी सहरका विभिन्न स्थानमा खुला रूपमा आगो बाल्ने र हानिकारक प्लास्टिकजन्य वस्तु जलाउने कार्यलाई यो टोलीले पूर्ण रूपमा नियन्त्रणमा लिएको छ । वातावरण भ्यानले नियमित गस्ती गर्ने क्रममा जहाँ कतै धुवाँ वा आगो बालेको देखिन्छ, त्यहाँ तत्काल पुगेर आगो निभाउने र बाल्ने पक्षलाई कारबाही गर्ने गरेको छ। यसबाट नगरको वायु प्रदूषण कम गर्न ठूलो मद्दत पुगेको महानगरको दाबी छ ।
त्यस्तै, सडकमा गुड्ने अत्यधिक धुवाँ फाल्ने सवारी साधन र मापदण्ड विपरीत सञ्चालन भई प्रदूषण फैलाउने उद्योगहरूमाथि पनि यस भ्यानमार्फत कडा निगरानी बढाइएको छ । नगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा खटिने यो टोलीले सडकमा जथाभावी फोहोर फाल्ने र ध्वनि प्रदूषण गर्नेहरूलाई घटनास्थलमै जरिवाना र सचेत गराउने कार्य गर्दै आएको छ। यसले गर्दा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्तिमा पहिलेको तुलनामा निकै कमी आएको देखिन्छ ।
सहरको सौन्दर्य बिर्गार्ने गरी भित्ता वा पोलहरूमा जथाभावी टाँसिएका पोस्टर, पम्प्लेट र अव्यवस्थित विज्ञापन हटाउन पनि यो भ्यानको प्रयोग प्रभावकारी सावित भएको छ । सडक किनारका रुखबिरुवाको संरक्षण गर्ने र भौतिक क्षति पुर्याउनेलाई तत्काल नियन्त्रणमा लिने अधिकारसहितको यो संयन्त्रले ललितपुरलाई स्वच्छ र हरित सहर बनाउने लक्ष्यमा बल पुर्याएको छ ।
अहिले ललितपुरबासीले यो भ्यानको सक्रियताका कारण आफ्नो टोलमा हुने वातावरणीय क्षतिबारे सिधै उजुरी गर्न र तत्काल समाधान पाउन थालेका छन्। नगरबासीको स्वास्थ्य र सफा सहरको अधिकारलाई प्रत्याभूत गर्न यो भ्यान एउटा सक्रिय मोबाइल युनिटका रूपमा स्थापित भएको छ । महानगरले आगामी दिनमा यसको कार्यक्षेत्रलाई अझ फराकिलो बनाउँदै वातावरणीय अनुशासन उल्लंघन गर्ने जोकोहीलाई पनि नछोड्ने नीति लिएको छ ।






प्रतिक्रिया (0)