सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँमा नदीजन्य विपद् घट्ने महानगरको दाबी

राम्रो पालिका 0

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपद्का घटनामा उल्लेख्य कमी आउने जनाएको छ । कामपा–११, १४, ३१ र ३२ आसपासका नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाइएकाले बाढीजन्य जोखिम घट्ने महानगरको निष्कर्ष छ ।

विगतका वर्षहरूमा नदी आसपासका क्षेत्रमा नै बाढीजन्य घटना बढी घट्ने गरेकोमा यस वर्ष एक–दुई स्थानमा बाहेक विपद्का घटनामा कमी आउने कामपाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । यद्यपि, सामाखुसीदेखि खाडीपाखासम्मको क्षेत्रमा भने अझै सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ ।बर्खाको समयमा हुन सक्ने पानीजन्य दुर्घटना कम गर्न महानगरले जोखिमयुक्त स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरिसकेको छ । सहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्कालीन व्यवस्थापन र विपद्पछिको पुनर्स्थापनाका लागि वडा र समुदायस्तरीय क्षमता विकास गर्ने योजना महानगरको छ ।

आगामी वर्षदेखि कार्यान्वयनमा आउने यस रणनीतिक योजनाले सामूहिक ज्ञान, सीप र सोच विकासबाट जोखिम घटाउने लक्ष्य राखेको छ । सहरलाई सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माणको आवश्यकता रहेको औँल्याउँदै सोही अनुसार आगामी वर्ष कार्यक्रम र बजेट प्रस्ताव गरिने जोशीले बताउनुभयो ।

यसैगरी, महानगरले वडास्तरीय पूर्वाधार विकासजन्य जोखिमको पूर्वानुमान गर्ने तथा केन्द्र र वडास्तरको क्षमता विकास गर्ने गरी नीति ल्याउनुपर्ने आवश्यकतामा जोड दिएको छ । विपद् व्यवस्थापनका पूर्वतयारी संयन्त्र र पालिकासँगको समन्वयबारे पनि आवश्यक छलफल भइसकेको जनाइएको छ ।

काठमाडौँ सहरको पहिलो र मुख्य जोखिम आगलागी रहेको भन्दै पछिल्लो समय विद्युत्जन्य आगलागीको जोखिम बढ्दै गएको वरिष्ठ उपरीक्षक जोशीले बताउनुभयो । आगलागीको खबर प्राप्त भएको आधा मिनेटभित्र दमकल स्टेसनबाट बाहिर निस्किने गरे तापनि सडकको सवारी चापका कारण समयमै गन्तव्यमा पुग्न कठिन भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *