बागलुङको अर्नाकोटमा खानेपानीको चरम अभाव , बसाइसराई बढ्दो : वडा अध्यक्ष भन्छन्, ‘बजेटै भएन’

राम्रो पालिका संवाददाता 67

रामकृष्ण बोहरा
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ देविस्थानको उच्च भागमा पर्छ, अर्नाकोट गाउँ । फेदीमा बगिरहेको निसीखोलाको तिरदेखि आङ नै सिरिङ हुने कहालीलाग्दो उकालो चढेपछि देउरालीमा बसेको अर्नाकोट गाउँमा पुग्न सकिन्छ । अर्नाकोटमा सडक विस्तार भए पनि यात्रा निकै जोखिमपूर्ण छ ।

विकासमा निकै पछि परेको अर्नाकोटमा खानेपानीको चरम अभाव हुँदा बसाइसराई बढ्दो छ । प्राथमिक उपचारका लागि समेत बोहरागाउँस्थित स्वास्थ्य चौकीको भर पर्नुपर्ने बाध्यता सामुदायिक स्वास्थ्य इकाईले केही हदसम्म टरेपनि बाह्रै मास हुने खानेपानीको अभावमा अर्नाकोटबासीले काकाकुलको नियतको भोग्न विवश छन् ।

उमेरले ८१ औं बसन्त पार गर्नुभएका छलविर विकको बुढेसकाल आराम गरेर काट्नु पर्ने हो । बिडम्वना, जीवनको उत्तरार्द्वमा रहनुभएका छलवीरको दैनिकी खानेपानीको जोहो गर्नमै व्यतित हुने गर्छ । छोराबुहारी कोही विदेश त कोही शहर पसेपछि घरमा एक्लै बस्दै आउनुभएका नरमतीको टाढाबाट पानी खेप्नसक्ने समेत शक्ति छैन ।

‘‘बुढेकाल लाग्यो टाढाबाट पानी बोक्न सक्दिन, कहिलेकसो त चार÷पाँच दिनसम्म मुखै नधोई खाना खानुपर्छ’’ छलवीरले भावुक हुँदै भन्नुभयो, ‘‘मेरो जिन्दगी परस्त पानी खान नपाई मर्ने भयो । पानी लिन पठाउँदा छरछिमेकीले पानी ज्याला स्वरुप पैसा माग्छन्, मेरो आम्दानी छैन कसरी पैसाको जोहो गरौं ।’’ गाउँका सरकारले जनताको माग सम्बोधन गर्दै खानेपानीको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।

छलविर जस्तै ४९ वर्षीय नरमती विकको दैनिकी पनि पानीको जोहो गर्नमै बित्ने गर्छ । हरेक बिहान ढोरपाटन नगरपालिका वडा नं. ५ स्थित बसन्त धाराको मुलबाट दुई घण्टा लगाएर खानेपानी बोक्नुपर्ने नरमतीले गुनासो पोख्नुभयो । ‘‘धारामा लिफ्टिङको पानी दैनिक दुई गाग्री मात्रै खस्छ, त्यो पानी मान्छेले खाने कि पशुभाउ र अन्नबालीलाई पुर्याउने’’ विकले भन्नुभयो, ‘‘पानीको प्यास मेट्न समेत सकस छ ।’’

केही वर्षअघि अर्नाकोटमा लिफ्ट प्रविधिबाट ल्याएको खानेपानी योजना जीर्ण भएको छ । २०४७ सालमा ल्याएको सबै पानीका सुक्दा अर्नाकोटबाट हरेक दिन बसाइ सर्नेहरु बढिरहेको स्थानीय ओमबहादुर रसाइलीले बताउनुभयो । दिगो मुलको व्यवस्थापन गर्न नसक्ने हो भने अर्नाकोट रित्तिने रसाइलीको भनाइ थियो । अर्नाकोट क्षेत्रमा चार सय घर धुरी छन् । सबै घरमा खानेपानीको अभाव छ । अर्नाकोटमा अधिकांश दलीत र एकादुई घर बाहुनक्षेत्री र जनजातीको बसोबास छ ।

यस्तै, अर्नाकोट माध्यमिक विद्यालयमा पढ्न आउने धेरै विद्यार्थीले अहिले पनि पानीको जोहो गर्नुपर्ने बाध्यताले पठनपाठन असर गरिरहेको प्रधानाध्यापक देवबहादुर कुँवरले बताउनुभयो । विद्यालयमा समेत पर्याप्त पानी नहुँदा बालबालिकालाई खानेपानीको व्यवस्था गर्न नसक्नुका साथै सरसफाईदेखि स्वास्थ्यका क्रियाकलाप समेत प्रभावित भएको कुँवरले गुनासो सुनाउनुभयो ।

उच्च भूभागमा रहेको अर्नाकोटमा खानेपानी अभाव रहेको वडा अध्यक्ष कुविर विकले स्वीकार्नुभयो । ‘‘बस्ती नजिक कहिंकतै मुल छैनन्, भएका मुल सबै सुके’’ विकले भन्नुभयो, ‘‘बस्तीबाट निकै टाढा रहेका मुलबाट अर्नाकोटमा पानी झार्न धेरै बजेटको योजना चाहिन्छ, त्यो वडाबाट संभव छैन ।’’ उहाँले पालिकामार्फत प्रदेश र संघ सरकारसँग छलफल चलाउने गरी काम भइरहेको बताउनुभयो । गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *