गाउँलेले मर्मत गरे सडक

राम्रो पालिका संवाददाता 40

सर्लाही । चुरेभेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, दापडाँडाका स्थानीय एकजुट भएर बिग्रेको सडक मर्मत गरेका छन् ।

गएको चैत २८ गते पाँच घण्टासम्म भएको वर्षाले दापडाँडामा चुरेपाखाको बाटो बिग्रिएको थियो । नगरपालिका कार्यालयले खनेको कच्ची सडकमा पानी परेर अत्यधिक खाल्डाखुल्डी परेपछि मङ्गलबार बिहान सबै गाउँले मिलेर ढुुङ्गा तथा माटो भरेर सडक मर्मतको काम गरिएको बाल कल्याण प्राथमिक विद्यालय बागमती–१ का शिक्षक मङ्गल लामाले जानकारी दिनुुभयो ।

लामाका अनुसार गाउँका किशोरकिशोरी र युवा मिलेर भत्किएको सडक मर्मत गर्ने काम गरिएको हो । ठुलो पानी परेर सडकमै भल बग्दा ठाउँ ठाउँमा माटो बगाएर साइकल, मोटरसाइकल, ट्याम्पो जस्ता सवारी सञ्चालनमा समस्या आएपछि गाउँले जुर्मुराएर सडक मर्मतको काम गरेका हुन् ।

चुरेपाखा खनेर बनाइएका कच्ची सडक सानो पानी पर्नासाथ बिग्रने गरेका छन् । पछिल्लो समय गाउँघरमा सडक सरसफाइ, मर्मतसम्भार जस्ता सामाजिक काममा एकत्रित हुने प्रचलन कम हुन थालिसकेको छ ।

युवा पुस्ताको बढ्दो वैदेशिक मोह र बाध्यताले गर्दा गाउँघरमा सामाजिक कार्यमा मानिस जुटाउनै गाह्रो पर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । अधिकांश सुुगम क्षेत्रमा बसाइँ सराइ गरेर गएकाले चुरेभेगमा दिनानुदिन जनसङ्ख्या घट्दै जाँदा आपत्विपत्मा समस्या पर्ने गरेको छ ।गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *