बढ्दो तापक्रम र ‘लू’ को जोखिमः चन्द्रपुर नगरपालिकाले फेर्यो विद्यालयको समय

राम्रो पालिका 0

काठमाडौं । तराई क्षेत्रमा लगातार बढ्दै गएको अत्यधिक गर्मी र “लू” का कारण रौतहटको चन्द्रपुर नगरपालिकाले विद्यालय सञ्चालनको समय परिवर्तन गरेको छ ।

बढ्दो तापक्रमका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाको शिक्षा शाखाले नयाँ समय तालिका लागू गर्ने निर्णय गरेको हो ।

नगरपालिकाद्वारा जारी सूचना अनुसार अब नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बिहानको समयमा मात्र सञ्चालन हुनेछन् । दिउँसोको चर्को घाम र गर्मीबाट विद्यार्थीहरूलाई जोगाउन विद्यालयको सेवा अवधि समेत केही छोट्याइएको शिक्षा शाखाले जनाएको छ ।

यसैबीच नगरपालिकाले विद्यालय समय परिवर्तन गर्नुका साथै विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागिसमेत विशेष निर्देशन जारी गरेको छ । विद्यालय परिसरमा पर्याप्त र स्वच्छ पिउने पानीको व्यवस्था गर्न, कक्षा कोठामा विद्यार्थीहरूको स्वास्थ्य अवस्थाप्रति शिक्षक तथा प्रशासन विशेष चनाखो रहन र आवश्यक सावधानी अपनाउन विद्यालयहरूलाई सचेत गराइएको छ । मौसमको प्रतिकुलता हेरेर यो कदम चालिएको र परिस्थिति अनुसार आवश्यक परे थप निर्णयहरू पनि लिन सकिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको यस निर्णयलाई स्थानीय अभिभावकहरूले निकै सकारात्मक रूपमा लिएका छन् । दिउँसोको समयमा बालबालिकालाई विद्यालय पठाउन र घर फर्काउन निकै सास्ती भइरहेको अवस्थामा बिहानी सत्रमा विद्यालय चलाउने निर्णयले ठूलो राहत मिलेको अभिभावकहरूको भनाइ छ ।

मौसमविद्हरूका अनुसार पछिल्ला दिनहरूमा तराईका जिल्लाहरूमा तापक्रम लगातार उकालो लागिरहेको छ । गर्मीजन्य जोखिम र स्वास्थ्य समस्याहरू बढ्न सक्ने भएकाले चन्द्रपुर जस्तै अन्य स्थानीय तहहरूले पनि मौसमको अवस्था हेरेर पूर्वसावधानी र सुरक्षाका उपायहरू अपनाउन थालेका छन् ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *