बूढानीलकण्ठ नगरपालिकाद्वारा युवाहरूका लागि नि:शुल्क ‘बेसिक एआई बुटक्याम्प’ घोषणा, आवेदन खुला
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका युवाहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आईटी लिटरेसी कार्यक्रम अन्तर्गत नि:शुल्क ‘बेसिक एआई बुटक्याम्प’ तालिमका लागि आवेदन आह्वान गरेको छ ।
स्थानीय युवाहरूमा डिजिटल सीप विकास गर्ने, प्राविधिक ज्ञान अभिवृद्धि गर्ने तथा उनीहरूलाई आधुनिक बजार अनुकुलको रोजगारीका अवसरहरूमा जोड्ने लक्ष्यसहित नगरपालिकाले यो नयाँ कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
यस विशेष डिजिटल प्रवर्द्धन कार्यक्रम अन्तर्गत पहिलो चरणमा कुल १०० जना प्रतिस्पर्धी सहभागीहरूलाई मात्र छनोट गरेर प्रशिक्षण दिइने नगरपालिकाले जनाएको छ। तालिम पूर्ण रूपमा नि:शुल्क रहने भएकाले यसमा सहभागी हुन इच्छुक युवाहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने म्याद तोकिएको छ । तोकिएको समयसीमा भित्र प्राप्त भएका आवेदनहरूमध्येबाट योग्य उम्मेदवारहरूलाई छनोट प्रक्रियामा सामेल गरिनेछ ।
नगरपालिकाले यस बुटक्याम्पमा सहभागी हुनका लागि निश्चित मापदण्डहरू समेत निर्धारण गरेको छ । जस अन्तर्गत आवेदन दिने युवाहरूको उमेर १६ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने सहभागीहरूमा आधारभूत कम्प्युटर ज्ञान अनिवार्य हुनुपर्ने सर्त राखिएको छ ।
साथै, भर्खरै कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा बसेका तथा फुर्सदिला समय भएका विद्यार्थीहरूलाई यो छनोट प्रक्रियामा विशेष प्राथमिकता दिइने नगरपालिकाको भनाइ छ ।
तीव्र गतिमा विकास भइरहेको सूचना प्रविधिको युगमा युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी आधारभूत ज्ञान दिलाउनु र उनीहरूलाई भविष्यका प्रविधिमुखी रोजगारीका अवसरहरूका लागि दक्ष जनशक्तिका रूपमा तयार पार्नु यस बुटक्याम्पको मुख्य उद्देश्य रहेको छ ।
यो कार्यक्रमले स्थानीय स्तरमै प्राविधिक जनशक्ति उत्पादन गरी युवाहरूलाई डिजिटल प्रतिस्पर्धामा अगाडि बढाउन ठूलो सहयोग पुर्याउने अपेक्षा नगरपालिकाले राखेको छ ।







प्रतिक्रिया (0)