धादिङको नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट घोषित, संघीय सरकारले गर्यो सम्मानित
धादिङबेंसी । धादिङको नीलकण्ठ नगरपालिका संस्थागत स्वमूल्याङ्कनमा देशकै उत्कृष्ट ठहरिएको छ। ९३.५० अंक ल्याएर उत्कृष्ट भएको नीलकण्ठलाई संघीय सरकारले शुक्रबार सम्मान गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानालाई विशेष समारोहमार्फत सम्मान गर्नुभयो।
मन्त्रालयले नगरपालिकाहरुको समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामलाई आधार मानेर मूल्याङ्कन गरेको थियो। आ.व. २०८०/८१ मा नगरपालिकाहरुमध्ये धादिङको नीलकण्ठ पहिलो स्थानमा आउन सफल भएको हो।
नगरप्रमुख ढुङ्गानाले आर्थिक पारदर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको जनाउनुभयो। स्वमूल्याङ्कनका लागि तोकिएका १० विषयक्षेत्र—शासकीय प्रबन्ध, प्रशासन, बजेट तथा योजना, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य समन्वय—मा उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ।
गाउँपालिकातर्फ धादिङकै बेनीघाट रोराङ गाउँपालिका ९१.७५ अंकसहित उत्कृष्ट घोषित भएको छ। मन्त्रालयले नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिका बाहेक चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिकालाई पनि सम्मान गरेको छ।







प्रतिक्रिया (0)