दसैँ नजिकिँदा लेक छोडी बेसी झर्दै गोठालाहरु, बजारमा चहलपहल बढ्यो
ढोरपाटन (बागलुङ), दसैँ आउनै लाग्दा वर्खाभर उक्लिएको लेकमा भेडा–बाख्रा चराउँदै बसेका गोठालाहरु परिवार भेट्ने आशा र पर्वको तयारीसहित तल झर्न थालेका छन् । करिब चार महिना लेकमा बिताएका उनीहरु घटस्थापनासँगै परम्परागत रूपमा वस्तुभाउ सहित बेसी फर्किने चलन रहेको छ।
बागलुङका निसीखोला, ढोरपाटन, तमानखोला लगायतका गाउँका किसान वर्खा सुरु भएपछि टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङजस्ता लेक क्षेत्रमा पुग्छन् । तीन हजारदेखि चार हजार पाँच सय मिटर उचाइमा वसन्तदेखि असोजसम्म पर्याप्त घाँस पाइने भएकाले उनीहरु जेठ महिनादेखि लेक उक्लने गर्छन् ।
दसैँ सुरु हुनेबित्तिकै तल झरेका गोठालाले पर्वकै रंग बेसीमा ल्याएका छन् । भेडा–बाख्रा बेचेर खर्च जुटाउने बेला भएकाले बजारमा पनि उनीहरुको भीड बढेको छ । ढोरपाटन–९ का तुलबहादुर पुनले भने, “घटस्थापनाकै दिन बेसी झर्ने पुरानो चलन हो, अब चिसो बढेपछि लेकमा बस्नै सकिँदैन।”
निसीखोला–६ का किसान कुमानसिंह विश्वकर्मा करिब तीन महिना लेकमा बसेर दुई सयभन्दा बढी भेडासहित फर्किएका छन् । उनका अनुसार वर्खामा पोषिलो घाँस खाएर सप्रिएका खसी, बोका र भेडाले राम्रो मूल्य पाउने भएकाले वार्षिक लाखौँ रुपैयाँ आम्दानी हुने गर्छ ।
गोठालाहरुले भेडा–च्याङ्ग्रा बिक्रीका लागि बुर्तिवाङ, खर्बाङ हुँदै बुटवलतर्फ वा गलकोट, बागलुङ, पर्वत हुँदै पोखरासम्म लैजाने तयारी गरेका छन् । असारदेखि टाढा रहेका उनीहरु अब जेठसम्म परिवारसँगै बस्न पाउने भएका छन् ।
लेकबाट गोठ तल झरेसँगै बेसीमा चहलपहल बढेको छ । यसले दशैँको माहोललाई अझै उत्साहपूर्ण बनाएको स्थानीय किसानहरुको भनाइ छ ।







प्रतिक्रिया (0)