दशैँअघि मुस्ताङबाट च्याङ्ग्रा भित्र्याउन कमी, मूल्यवृद्धिले बागलुङ बजार प्रभावित
गलकोट (बागलुङ) । यस वर्ष दशैँ नजिकिँदै गर्दा मुस्ताङबाट बागलुङमा अपेक्षाकृत कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य बढेकाले उपभोक्ता मात्र नभई व्यापारी पनि असरमा परेका छन् ।
हालसम्म सदरमुकाम बजारमा करिब एक सय च्याङ्ग्रा मात्रै आइपुगेका छन् । गत वर्ष यस्तै समयमा तीन सयभन्दा बढी च्याङ्ग्रा पुगेको स्मरण गर्दै व्यापारीले यस पटक आपूर्ति उल्लेख्य रूपमा घटेको बताएका छन् ।
उपल्लाचौरका बलबहादुर थापाले यसपालि जम्मा २९ वटा च्याङ्ग्रा ल्याएका छन् । उनका अनुसार प्रतिच्याङ्ग्रा ३५ देखि ३७ हजार रुपैयाँमा बिक्री भइरहेको छ भने मासुको मूल्य प्रतिकिलो दुई हजार रुपैयाँसम्म पुगेको छ । “मूल्य बढेपछि च्याङ्ग्राको मासु कम खपत भएको छ, बरु स्थानीय खसीबोकाको मासु बढी उपभोगमा आएको छ,” उनले सुनाए ।
बागलुङका ज्ञानेन्द्रबहादुर कार्की र महेन्द्रबहादुर केसीले यस पटक ३०-३० गरेर जम्मा ६० वटा मात्र च्याङ्ग्रा ल्याएका छन् । दशैँ–तिहारका लागि वर्षौँदेखि मुस्ताङबाट च्याङ्ग्रा ल्याउँदै आएका केसीले यस पटक आपूर्ति घट्दा मूल्य स्वाभाविक रूपमा बढेको बताए ।
व्यापारीहरू मुस्ताङका छोसेर, कागबेनी, चमर, जोमसोमलगायत क्षेत्रबाट च्याङ्ग्रा खरिद गर्ने गर्छन् । उपभोक्ताको भनाइमा हिमाली भेगका च्याङ्ग्राले लेकाली जडीबुटी खाएकाले मासु पोषिलो मात्र नभई स्वादिष्ट पनि हुन्छ ।







प्रतिक्रिया (0)