महोत्तरीको सामुदायिक वनमा वन्यजन्तु र रंगीचंगी चराको चहलपहल बढ्यो

राम्रो पालिका संवाददाता 11

महोत्तरी । महिलाको सक्रियता र स्थानीयको सामूहिक पहलकदमीले बर्दिबास नगरपालिका–३ को कालीदमार र रातु महिला सामुदायिक वन अहिले हरियालीले मुड्किएको छ। चरीचरण र सिकार पूर्ण रूपमा रोकिएपछि वन्यजन्तु र पक्षीको संख्या वर्षैपिच्छे बढ्दै गएको छ।

करीब ३५९ हेक्टरको कालीदमार र ३५० हेक्टरको रातु महिला सामुदायिक वनको संरक्षणमा कालापानीका २१० परिवारको प्रत्यक्ष संलग्नता छ। एउटै क्षेत्रका यी दुई वनमध्ये रातु महिला सामुदायिक वन विशेष रूपमा महिलाको सहभागिता बढाउन गठन गरिएको हो, जसको सम्पूर्ण नेतृत्व र सदस्यता महिलाकै हातमा छ।

कालीदमार सामुदायिक वन उपभोक्ता समितिका संस्थापक सचिव बालकिशोर रायमाझीका अनुसार चरीचरण बन्द गरेपछि थोरै वर्षमै सालका काठ उम्रन थालेका छन्। वनको करिब ४० प्रतिशत हिस्सा बहुमूल्य सालका रुखले ढाकिएको छ। स्थानीय महिलाको निरन्तर पहरेदारीका कारण वनमा मृग, हरिण, नीलगाई, बँदेल जस्ता वन्यजन्तुको संख्या उल्लेख्य रूपमा बढेको उनले बताए। पार्कको घेराभित्र बनाइएको कालापानी उद्यानमा मयुर, लुइँचे र अज्ञात प्रजातिका चराको मधुर कलरबले वनलाई जीवन्त बनाएको छ।

रातु महिला सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष मुना श्रेष्ठ भन्छिन्, “हामी महिलाले सामूहिक रूपमा वनको पहरेदारी गर्दै आएका छौं। हाम्रो निरन्तर प्रयासले वन जोगिनु मात्र होइन, नयाँ प्रजातिका चराचुरुङ्गी र जनावर फस्टाउन थालेका छन्।”

डिभिजन वन कार्यालयका प्रमुख अजय मिश्रका अनुसार स्थानीय महिलाको पहरेदारी र उद्यान क्षेत्रको तारबारले अवैध चोरीसिकारी रोकिएको छ, जसले वन र वन्यजन्तुको बासस्थान सुरक्षित राख्न ठूलो योगदान दिएको छ।

स्थानीय होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष गुञ्जबहादुर कार्कीले यसलाई उत्कृष्ट पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्न सकिने सम्भावना देख्छन्। उनका अनुसार यहाँको चुरे वनसँगै टुटेश्वरनाथ महादेव मन्दिर, पञ्चधुरादेवी शक्तिपीठ, राइमण्डलधाम, पाषाण युगकालीन हतियार कारखाना, गिद्धको बासस्थान, चनौटेडाँडाका सुन्तला र बहुमूल्य जडीबुटीको भण्डारजस्ता स्थलहरू मिलेर यो क्षेत्र अनुपम प्राकृतिक सम्पदा बनेको छ।

संरक्षण र पर्यटनको दोहोरो फाइदा लिन तीनै तहका सरकार र स्थानीय निकायले योजनाबद्ध पूर्वाधार विकासमा जोड दिए, महोत्तरीको यो चुरेक्षेत्र आर्थिक समृद्धिको महत्वपूर्ण केन्द्र बन्न सक्ने स्थानीयको विश्वास छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *