काठमाडौँ महानगरले मोटरसाइकल एम्बुलेन्स चलाउने, ८ मिनेटमै घटनास्थलमा पुग्ने

राम्रो पालिका 0

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रको सवारी चापलाई छिचोल्दै बिरामीलाई तत्काल सेवा दिन ‘दुईपांग्रे (मोटरसाइकल) एम्बुलेन्स’ सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । एम्बुलेन्स सेवालाई थप वैज्ञानिक, व्यावहारिक र प्रविधिमैत्री बनाउने योजनाअनुरूप महानगरले यो नयाँ अभ्यास थालनी गर्न लागेको हो ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जटिल स्वास्थ्य अवस्थामा रहेका नागरिकलाई समयमै उपचार सुनिश्चित गर्न स्वास्थ्य विभागलाई आवश्यक निर्देशन दिनुभएको छ । उहाँले बिरामी भएका ठाउँमा सबैभन्दा छिटो पुग्न सक्ने माध्यमका रूपमा मोटरसाइकल एम्बुलेन्सलाई परिचालन गरिने र यसका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गर्न जोड दिनुभएको छ ।

नयाँ प्रणालीअन्तर्गत बिरामीका आफन्तले आफूले बोलाएको एम्बुलेन्स कहाँ आइपुग्यो र त्यसमा कुन स्वास्थ्यकर्मी आउँदैछन् भन्ने कुराको प्रत्यक्ष जानकारी पाउने व्यवस्था गरिनेछ । ट्राफिक जामका कारण ठूला एम्बुलेन्स पुग्न ढिलाइ हुने स्थानमा मोटरसाइकल एम्बुलेन्सबाट चिकित्सक पुगेर बिरामीलाई अस्पताल लैजानुअघि नै जीवनरक्षक प्राथमिक उपचार प्रदान गर्ने संयन्त्र निर्माण गरिने महानगरको योजना छ । महानगरपालिकाले यो सेवालाई व्यवस्थित बनाउन २०७६ सालदेखि नै नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गर्दै आएको छ ।

यस परियोजनाका लागि महानगरले हालसम्म १३ करोड ४४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइसकेको छ । हाल सञ्चालनमा रहेको सेवाअन्तर्गत एक बिरामीको उपचार र व्यवस्थापनमा लाग्ने १ हजार ६ सय ५ रुपैयाँ बराबरको खर्च महानगर आफैँले बेहोर्दै आएको छ ।सेवालाई थप विस्तार गर्न उपत्यकाका अन्य नगरपालिकाहरूसँगको आर्थिक साझेदारीबारे छलफल गर्ने तयारी स्वास्थ्य विभागले गरेको छ ।

स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार अन्य पालिकासँग सहकार्य भएमा सेवाको पहुँच अझ फराकिलो हुनेछ भने वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले सेवाको गुणस्तर कायम राख्दै लागत न्यूनीकरण गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

महानगरले तय गरेको मापदण्डअनुसार, कल गरेको ८ मिनेटभित्र बिरामी भएको स्थानमा पुग्ने गरी सेवा प्रवाह गर्ने लक्ष्य राखिएको छ । यो लक्ष्य हासिल गर्न र काठमाडौँ उपत्यकाको आवश्यकता धान्न कम्तीमा ४९ वटा एम्बुलेन्स आवश्यक पर्ने महानगरको प्रक्षेपण छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *