सुकुम्बासी बालबालिकालाई कक्षा १० सम्म निःशुल्क आवासीय शिक्षा दिँदै काठमाडौं महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न नदी किनाराबाट विस्थापित भएका सुकुम्बासी बालबालिकाको शिक्षालाई सुनिश्चित गर्न विशेष पहल सुरु गरेको छ । महानगरपालिकाले निजी विद्यालयहरूसँगको सहकार्यमा जोखिमयुक्त क्षेत्रका बालबालिकालाई आवास (होस्टेल) सुविधासहित कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाएको हो ।
यस कार्यका लागि महानगरपालिका, सम्बन्धित विद्यालय र अभिभावकबीच शुक्रबार एक त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार पहिलो चरणमा राधास्वामी सत्संग व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका १४ जना बालबालिकालाई आवासीय सुविधासहित विभिन्न संस्थागत विद्यालयमा पठाइएको छ । होल्डिङ सेन्टरमा दर्ता भएका कुल ६१ जना बालबालिकामध्येबाट पहिलो चरणमा यी १४ जना छानिएका हुन्, जसले आइतबारदेखि नै विद्यालय जान सुरु गर्नेछन् । उक्त सम्झौता पत्रमा महानगरपालिकाका तर्फबाट शिक्षा अधिकारी नमराज ढकाल, सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीका अभिभावकले हस्ताक्षर गरेका छन् ।
यो कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन तीनै पक्षको दायित्व स्पष्ट रूपमा बाँडफाँट गरिएको छ । सम्झौताअनुसार निजी विद्यालयहरूले बालबालिकालाई होस्टेल र गुणस्तरीय पठनपाठनको पूर्ण निःशुल्क व्यवस्था गर्नेछन् भने काठमाडौँ महानगरपालिकाले विद्यार्थीहरूका लागि आवश्यक पोशाक, झोला, स्टेसनरी तथा अन्य शैक्षिक सामग्रीहरू उपलब्ध गराउने छ। यसैगरी, अभिभावकहरूले बालबालिकाको शैक्षिक प्रगतिबारे नियमित जानकारी लिनुपर्ने, विद्यालयसँग समन्वय गर्नुपर्ने र लामो बिदाको समयमा बालबालिकालाई परिवारसँग राख्ने जिम्मेवारी पूरा गर्नुपर्ने छ ।
महानगरपालिकाले यस अभियानका लागि प्याब्सन अन्तर्गतका १० र एनप्याब्सन अन्तर्गतका ३ गरी कुल १३ वटा निजी विद्यालयहरूसँग सम्झौता गरेको छ । प्याब्सन अन्तर्गतका विद्यालयहरूमा एन्जल हर्ट स्कुल मनमैजु, गेटवे एकेडेमी पेप्सीकोला, भ्याली पब्लिक स्कुल कपन बुढानीलकण्ठ, नेक्सस इन्टरनेसनल स्कुल पेप्सीकोला, इनोभेटिभ स्कुल शंखमुल, हेम्स स्कुल कालोपुल, केएमसी शंखमुल, केभिसी नागार्जुन, भेनस पब्लिक स्कुल जोरपाटी र सुप्रिम इन्टरनेसनल स्कुल चाबहिल रहेका छन् । यस्तै एनप्याब्सन अन्तर्गतका विद्यालयहरूमा प्रोग्रेसिभ सेकेन्डरी स्कुल चाबहिल, नेरिक एकेडेमी बानेश्वर बुद्धनगर र नेसनल आइडल बोर्डिङ स्कुल मन्डिकाटार रहेका छन् ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षामा पहुँच पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै महानगरपालिका यसको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताएकी छिन् । कार्यक्रममा वडा अध्यक्ष कुश ढकालले प्रतिकूल परिस्थितिमा रहेका बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने सबै पक्षले मानवीय सेवाको उत्कृष्ट काम गरेको विचार व्यक्त गरे ।
शैक्षिक संस्थाका प्रतिनिधिहरूले पनि यस कदमलाई सामाजिक उत्तरदायित्वको रूपमा लिएका छन् । प्याब्सन जिल्ला कार्यसमितिका अध्यक्ष गगनसिंह ऐरले यो केवल शैक्षिक कार्यक्रम मात्र नभई सामाजिक दायित्व पनि भएको बताएका छन् भने एनप्याब्सन महानगर समितिका अध्यक्ष नवराज पाण्डेले महानगरको समन्वयमा बालबालिकालाई उच्च गुणस्तरको शिक्षा उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारका बाँकी बालबालिकाको शिक्षालाई पनि व्यवस्थित र न्यायोचित बनाउन थप समन्वय र सहजीकरण जारी राख्ने जनाएको छ ।







प्रतिक्रिया (0)