चन्द्रागिरि नगरलाई प्रविधिमैत्री र सुरक्षित बनाइँदै
DCIM103MEDIADJI_0772.JPG
काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नगरपालिका क्षेत्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ, प्रभावकारी र प्रविधिमैत्री बनाउन नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक खण्ड तथा विभिन्न वडा कार्यालय जाने बाटोहरूमा सिसी क्यामरा जडान गर्ने उद्देश्यका साथ बिहीबार दुई पक्षबीच औपचारिक सम्झौता भएको हो । उक्त समझदारीपत्रमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम गिरीले काठमाडौं उपत्यका भित्रिने सबैभन्दा ठूलो र मुख्य नाका नागढुङ्गा चन्द्रागिरि नगरपालिकामै पर्ने भएकाले यस क्षेत्रको शान्ति सुरक्षालाई चुस्त राख्न प्रहरीसँग सहकार्य गरिएको बताए । उहाँले सिसीटिभी जडान गरिएपछि नगरभित्र हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र दैनिक ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीका अनुसार हाल नगरपालिका क्षेत्रभित्र झण्डै ४०० वटा सिसी क्यामेराहरू जडान गरिएका छन् । नगरभित्र पूर्ण सुरक्षाको दीर्घकालीन लक्ष्य राखेर ती क्यामराहरूको सङ्ख्या थप गरी १ हजार ५०० पुर्याउने योजनासहित नेपाल प्रहरीसँग यो महत्त्वपूर्ण सम्झौता गरिएको प्रवक्ता खड्गीले जानकारी दिए ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले शान्ति सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नागरिक र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताउँदै उहाँले स्थानीय सरकारले सुरक्षाको क्षेत्रमा गरेको यो लगानीको उच्च कदर गर्दै नगरको समस्या समाधानमा प्रहरीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।







प्रतिक्रिया (0)