हलेसी तुवाचुङ देशकै ‘उत्कृष्ट नगरपालिका’ घोषित, सभामुखको हातबाट थाप्यो अवार्ड
काठमाडौं । कोशी प्रदेशको खोटाङ जिल्लामा अवस्थित हलेसी तुवाचुङ नगरपालिका संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा देशकै उत्कृष्ट स्थानीय तहका रूपमा सम्मानित भएको छ ।
नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित एक विशेष समारोहका बीच नगरपालिकालाई यस वर्षको ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’ प्रदान गरिएको हो। उक्त गरिमामय कार्यक्रममा प्रतिनिधिभाका सभामुख डोलप्रसाद अर्यालले हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख विमला राईलाई उत्कृष्ट नगरपालिकाको सम्मान पत्र र अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/८२ मा गरेको विस्तृत कार्यसम्पादन मूल्यांकनका आधारमा हलेसी तुवाचुङलाई उत्कृष्ट नगरपालिका घोषणा गरेको हो। नगरपालिकाले स्थानीयस्तरमा जनतालाई दिने सेवा प्रवाहमा व्यापक सुधार गरेको, वित्तीय पारदर्शिता कायम राखेको तथा स्थानीय सुशासनका मापदण्डहरूलाई पूर्ण रूपमा पालना गरेका कारण आयोगको मूल्यांकनमा उच्च अंक प्राप्त गर्न सफल भएको बताइएको छ । अवार्ड ग्रहण गरेपछि नगर प्रमुख राईले यो सफलता सम्पूर्ण नगरवासी, जनप्रतिनिधि र कर्मचारीहरूको सामूहिक मिहिनेतको परिणाम भएको बताउँदै यसले आगामी दिनमा अझै जिम्मेवार भएर काम गर्ने थप ऊर्जा दिएको उल्लेख गर्नुभयो । प्रशासनिक सुशासनसँगै हलेसी तुवाचुङले ऊर्जा क्षेत्रको विकास र पहुँच विस्तारमा पनि देशमै नयाँ र उदाहरणीय पहलकदमी थालेको छ ।
नगरपालिकाले आगामी पाँच वर्षका लागि रणनीतिक “म्युनिसिपल इनर्जी प्लान” स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ, जस अन्तर्गत नगरका प्रत्येक नागरिकको घरमा विद्युतीय ऊर्जाको पहुँच सुनिश्चित गरिनेछ । यस योजनामार्फत कृषि क्षेत्रको आधुनिकीकरणका लागि सौर्य सिंचाइ प्रणालीको विकास गर्ने र स्थानीयस्तरमै साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्ने लक्ष्य समेत नगरपालिकाले अघि सारेको छ ।सुशासन र ऊर्जासँगै शिक्षा क्षेत्रमा हलेसी तुवाचुङले गरेका दूरगामी कार्यहरू पनि राष्ट्रिय स्तरमा प्रशंसित बन्दै आएका छन् ।
विद्यालयहरूको भौतिक तथा शैक्षिक गुणस्तरमा सुधार, उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई निरन्तर प्रोत्साहन तथा सम्मान र शैक्षिक क्षेत्रमा भित्र्याइएका विभिन्न नवप्रवर्तनकारी कार्यक्रमका कारण यस नगरपालिकाले केही समयअघि मात्रै ‘प्यान आउटस्ट्यान्डिङ म्युनिसिपल अवार्ड–२०८२’ समेत प्राप्त गरिसकेको छ ।पछिल्लो समय देशका धेरै स्थानीय तहहरूमा वित्तीय अनुशासन र विकासको गति सुस्त देखिएर आलोचना भइरहेका बेला हलेसी तुवाचुङ नगरपालिकाले विकास, सुशासन र सेवा प्रवाहमा कायम गरेको यो लय देशभरिकै अन्य स्थानीय सरकारहरूका लागि पनि एउटा उत्कृष्ट र सिक्न योग्य नमुना बनेको छ ।







प्रतिक्रिया (0)