कटारीमा राजस्व प्रशासन सेवा सुरु, गाईघाट र लहान धाउनुपर्ने बाध्यताको अन्त्य

राम्रो पालिका 0

कटारी । कटारी नगरपालिकाले आफ्नै कार्यालयबाट राजस्व प्रशासन सम्बन्धी सेवा विधिवत् रूपमा सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले स्थानीय स्तरमै सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले मिति २०८३ जेठ १ गतेदेखि यो सेवा औपचारिक रूपमा सूचारू गरेको हो । नगरपालिकाबाट सेवा सुरु भएकै पहिलो दिन स्थानीय व्यवसायीहरूले उत्साहजनक रूपमा सेवा लिएका छन् । कार्यालयका अनुसार पहिलो सेवाग्राहीका रूपमा कटारी–४ स्थित सायरेम ट्रेडर्सका प्रोप्राइटर खिलराज राईले व्यवसायिक प्यान दर्ता प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

यसैगरी, सोही दिन कटारी–५ मा सञ्चालित शुभ श्री ल फर्मका सञ्चालक कुलदिप प्रसाद दाहाललाई पनि प्यान नम्बरको प्रतिलिपि प्रदान गरिएको छ । सेवा शुभारम्भका अवसरमा नगरपालिकाले पहिलो दिन सेवा लिने दुवैजना सेवाग्राही महानुभावहरूलाई व्यावसायिक सफलताको हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

यो सेवा सञ्चालनमा आएसँगै कटारी क्षेत्रका नागरिकहरूलाई ठूलो राहत मिलेको छ । यसअघि व्यवसाय दर्ता, प्यान तथा राजस्व प्रशासन सम्बन्धी कामका लागि स्थानीय बासिन्दाहरू जिल्ला सदरमुकाम गाईघाट वा छिमेकी जिल्ला सिराहाको लहान धाउनुपर्ने बाध्यता थियो, जसले गर्दा समय र पैसा दुवै खर्च हुने गरेको थियो ।

नगरपालिकाले अब कटारीमै यो सेवा उपलब्ध भएपछि गाईघाट र लहान धाउनुपर्ने बाध्यताको पूर्ण रूपमा अन्त्य भएको जनाएको छ । साथै, स्थानीय स्तरमै व्यापार व्यवसाय गर्न इच्छुक सम्पूर्ण नगरवासीहरूलाई आवश्यक सेवा लिनका लागि नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न समेत अपिल गरिएको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *