एसइई उत्तीर्ण विद्यार्थीलाई प्रोत्साहनः कतै सीप र अनुशासनको मन्त्र, कतै ल्यापटप उपहार !

राम्रो पालिका 0

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रोत्साहन गर्न देशका विभिन्न स्थानमा सम्मान कार्यक्रमहरू आयोजना गरिएका छन् । काठमाडौंको तारकेश्वर र भोजपुरको रामप्रसादराई गाउँपालिकामा भएका छुट्टाछुट्टै कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने सफल विद्यार्थीहरूलाई ‘परिवर्तन अभियान नेपाल’ ले एक भव्य समारोहका बीच सम्मान गरेको छ । कार्यक्रममा ४ जीपीए ल्याउने विद्यार्थीहरूसहित उत्तीर्ण सबैलाई सम्मान पत्र प्रदान गरियो ।

समारोहका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षामा किताबी ज्ञान मात्र पर्याप्त नहुने भन्दै अनुशासन र नैतिक मूल्य मान्यतामा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफ्नो १६ वर्षको उमेरदेखिको व्यावहारिक अनुभव सुनाउँदै विद्यार्थीहरूलाई पढाइसँगै सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गरिन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले विद्यार्थीहरूलाई स्वदेशमै आफ्नो भविष्य खोज्न र देशको माटोमा केही गरेर देखाउन प्रेरित गरे भने नेपाली कांग्रेसका सचेतक निष्कल राईले युवा पुस्ता राजनीतिक र सामाजिक रूपमा समेत सचेत रहनुपर्नेमा जोड दिए ।

परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले उत्तीर्ण विद्यार्थीहरूका लागि संस्थाले आगामी एक महिनासम्म निःशुल्क शैक्षिक परामर्श उपलब्ध गराउने र आर्थिक अभाव झेलिरहेका जेहेन्दार विद्यार्थीहरूका लागि विभिन्न प्लस टु कलेजहरूसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने घोषणा गरे । तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले नगरको शैक्षिक नतिजामा क्रमिक सुधार आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर बढाउन थप योजनाहरू ल्याइने स्पष्ट पारिन् ।

भोजपुरको रामप्रसादराई गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप उपहार

यसैबीच, भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षातर्फ आकर्षित गर्ने उद्देश्यले ल्यापटप वितरण गरी सम्मानित गरेको छ । गाउँपालिकाका अनुसार साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई प्रोत्साहनस्वरूप ल्यापटप प्रदान गरिएको हो ।

विद्यार्थीहरूलाई पुरस्कृत गर्दै गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षण सिकाइमा हौसला प्रदान गर्न र प्रविधिमैत्री शिक्षणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ ल्यापटप दिइएको बताए। उनीहरूमा मिहिनेत, अनुशासन र लगनशीलताको विकास गर्न यसले ठूलो सहयोग पुग्ने अध्यक्ष राईको भनाइ थियो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको भन्दै आगामी दिनमा पनि यस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए । रामप्रसादराई गाउँपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयको शैक्षिक तथा भौतिक सुधार, प्रविधिमैत्री शिक्षण र शिक्षकहरूको क्षमता विकासजस्ता रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *