छाडेको गाउँमै फर्किएका पचास परिवारले उजाड जमिन बनाए हराभरा

राम्रो पालिका संवाददाता 83

ओखलढुङ्गा। भाग्य लहरमा लहरी–लहरी पुगेँ म यस मरुस्थलमा कसरी तर खेद छैन तिम्रो आकृति लेखिएको छ यो हृदयभरि !मेरो प्यारो ओखलढुङ्गा !

युगकवि सिद्धिचरण श्रेष्ठले कवितामार्फत भने झैँ ‘मरुस्थल’ जाने अनि प्राकृतिक आकृति खण्डहर जस्तो हुने परिणति उहाँको ‘प्यारो ओखलढुङ्गा’ ले भोगिरहेको छ। वैदेशिक रोजगारी, निजामती सेवा र सहरी क्षेत्रको आकर्षणले गाउँ रित्तै भए।

तर ‘जन्म दिने आमा र जन्मिएको माटो कहिल्यै नभुल्नू’ भन्ने उद्गारलाई चरितार्थ गर्दै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ को चुहानछापका ५० घरपरिवार एकैसाथ गाउँ फर्किएका छन्। कृषि उद्यममार्फत आर्थिक रूपान्तरणको नवीन सङ्कल्प बोकेर गाउँ फर्किएका नेपाल सरकारका सेवानिवृत्तदेखि विभिन्न क्षेत्रमा सेवा गरेका गाउँबासी चुहानछापलाई हराभरा बनाउन जुटेका हुन्।

रोजगारी, अध्ययन र व्यापार व्यवसाय गर्ने उद्देश्य बोकेर २०६० सालदेखि स्थानीयवासीले गाउँ छाड्न थाले। काठमाडौँसहित विभिन्न सहरमा अस्थायी तथा स्थायी रूपमा बसोबास गर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा माथि पुग्यो। समग्रमा, गाउँ रित्तिँदै गयो। चुहानछापवासी काठमाडौँ, धरान, इटहरी, विराटनगर र बुटवलका बासिन्दा बने।

‘गाउँ फर्क’ अभियानको परिणाम
३० वर्षअघि ओखलढुङ्गाको चुहानछाप गाउँ हरियाली हराभरा थियो। खेतीयोग्य उर्वर जमिनमा स्थानीयले मानो रोपेर मुरी उब्जाउँथे। १५० घरपरिवारले पशुपालनबाट पनि मनग्गे आम्दानी गर्थे। साविक ठुलाछाप गाउँ विकास समितिको चुहानछापमा अधिकांश सुतार कार्कीको रजगज थियो।

हराभरा गाउँ उजाड हुँदै गयो, उर्वर जमिन बाँझिए। गाउँको स्वरूपै बदलिएर जङ्गलले ढाक्यो तर रोजगारी, अध्ययन आदिका लागि गाउँ छाडेका युवा उमेर ढल्किँदै गएपछि ‘गाउँ फर्क’ अभियान चलाएर आफ्नो जन्मथलो फर्किए। सरकारी जागिरबाट सेवानिवृत्त भूपेन्द्र कार्कीका अनुसार सुन्दर गाउँ उजाड बनेपछि बसाइँ हिँडेकाहरूसँग पटक पटक संवाद गरेर गाउँ फर्किने अभियान सञ्चालन गरिएको हो। उहाँको घर काठमाडौँमा पनि छ तर उहाँले गाउँ फर्किएर आफ्नै संयोजनमा ‘गाउँ फर्क’ अभियान चलाउनुभएको छ।

काठमाडौँ, ललितपुर, भक्तपुर, धरान, इटहरी, विराटनगरसहित सहरमा गएर बसेका ५० परिवार गाउँ फर्किएका छन्। उहाँका अनुसार अरू घरपरिवारलाई पनि फर्काउने तयारी भइरहेको छ। कार्कीकै नेतृत्वमा कालिकादेवी बहुउद्देश्यीय कृषि तथा पशुपालन कृषक समूह गठन गरेर पशुपालनका लागि फार्म, तरकारी खेतीका लागि टनेल निर्माण, बाख्रापालन, फलफूल खेतीलगायतको कामको थालनी गरिएको छ।

सुरुमा ४० वटा राँगापालन गर्न भेटेरिनरी तथा पशुविज्ञ केन्द्र ओखलढुङ्गाको समन्वयमा धमाधम गोठ निर्माणको काम भइरहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो। उहाँले सिँचाइको व्यवस्थापन गर्न पानीको स्रोत भएको खेत खरिद गरिएको बताउनुभयो।

कृषि उद्यम थाल्दै
कृषि ज्ञानकेन्द्र साथै अन्य कार्यालयको समन्वयमा तरकारी खेतीका लागि पाँच वटा टनेल निर्माणको काम सुरु गरिएको छ। स्थानीय पदमबहादुर कार्कीका अनुसार रोजगारी खोज्दै सहर तथा विदेशिएका युवालाई गाउँ फर्काएर उजाड भूमि हराभरा बनाउन थालिएको छ। उहाँले दक्ष युवा जनशक्तिलाई गाउँमै अवसर सिर्जना गरी स्वरोजगार बनाउने अभियानका साथ काम भइरहेको बताउनुभयो। उहाँले युवालाई व्यावसायिक पशुपालन, तरकारी खेती, माछापालन, बेसार, अदुवा खेतीलगायतको काम गर्न प्रोत्साहन गरिएको बताउनुभयो। उहाँले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग बजेट लिएर काम अघि बढाउने प्रयत्न भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँमै उद्यम गर्ने उद्देश्यले गाउँ फर्किएका हौँ। सरकारले सहयोग र प्रोत्साहन गरे यहाँबाटै लाखौँ कमाउने बाटो खुल्छ। युवाले रोजगारी पाउँछन्।”

सिद्धिचरण नगरपालिका–२ का वडाध्यक्ष वसन्त कटुवालले गाउँ फर्केर आएकालाई विशेष अभियान र कार्यक्रम सञ्चालन गरेर सहयोग गरिने बताउनुभयो। उहाँले खानेपानी, सडक, व्यवसाय सञ्चालन गर्न आवश्यक भौतिक सामग्री र राज्यबाट व्यवस्था गर्न सकिने जति सहयोग गरिने बताउनुभयो। उहाँले चुहानछापका ९८ परिवार गाउँ छाडेर गएकोमा ५० परिवार फर्किएको र अरू पनि फर्किने क्रममा रहेको बताउनुभयो।

वडा कार्यालयले केही परिवारले बसाइँसराइ गरेरै फर्किएको जनाएको छ। नेपाल सरकारको कर्मचारी सेना, प्रहरी, शिक्षकलगायत वैदेशिक रोजगारी साथै अन्य रोजगारी, व्यापार, व्यवसाय र अध्ययनको सिलसिलामा अधिकांश स्थानीय पलायन भएका थिए। करिब चार वर्षदेखि ‘गाउँ फर्क’ अभियान सञ्चालन भइरहेको छ।

गोरखापत्र

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *