“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता” भन्ने नाराका साथ त्रियुगा नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

राम्रो पालिका 0

काठमाडौं । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नाराका साथ उदयपुरको त्रियुगा नगरपालिकालाई पालिकास्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ ।

नगरपालिका क्षेत्रभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाहरूले आवश्यक पर्ने सबै प्रकारका नियमित खोप पाएको सुनिश्चित भएपछि औपचारिक रूपमा यो घोषणा गरिएको हो ।आइतबार त्रियुगा नगरपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच नगरप्रमुख वसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा त्रियुगा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो । बालबालिकाको स्वास्थ्य अधिकारलाई प्रत्याभूत गर्दै नगरलाई पूर्ण खोपयुक्त बनाउने अभियान सफल भएसँगै आधिकारिक रूपमा यो प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

घोषणा कार्यक्रममा त्रियुगा नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख उपेन्द्र कार्कीले प्रतिवेदन प्रस्तुत गर्दै त्रियुगा नगरपालिकाभित्र पछिल्लो एक वर्षको अवधिमा खोप लगाउन छुटेका ४६ जना बालबालिकालाई पहिचान गरी खोपको दायरामा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्र रहेका ० देखि ५९ महिना उमेर समूहका कुल ६ हजार ९ सय २२ जना बालबालिकाहरूलाई पूर्ण रूपमा नियमित खोप लगाइएको छ । नियमित खोप पाउनबाट विभिन्न कारणले छुटेका बालबालिकाहरूको मिहिन ढङ्गले खोजी गर्ने, घरदैलो सर्वेक्षण गर्ने तथा व्यापक रूपमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर लक्ष्य हासिल गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

घोषणा सभालाई सम्बोधन गर्दै नगरप्रमुख वसन्त कुमार बस्नेतले खोप कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिएर महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको उच्च कदर गर्नुभयो । सोही अवसरमा उहाँले स्वयंसेविकाहरूको मनोबल उच्च बनाउन नगरपालिकाका तर्फबाट थप सुविधा उपलब्ध गराउने घोषणा समेत गर्नुभयो । नगरप्रमुख बस्नेतले बालबालिकाको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न समाजका सबै वर्ग र सरोकारवालाहरूको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो ।

त्रियुगा नगरपालिका स्वास्थ्य शाखा, गाईघाट उदयपुरको आयोजनामा सम्पन्न उक्त ऐतिहासिक घोषणा कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विभिन्न वडाका स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो । कार्यक्रमका सहभागी तथा स्वास्थ्य क्षेत्रका जानकारहरूले स्थानीय तहको सक्रियताका कारण गाउँ-गाउँका विपन्न बस्तीसम्म खोपको पहुँच पुगेको भन्दै दिगोपनाका लागि आगामी दिनमा नियमित अनुगमन र अभिलेख व्यवस्थापनलाई चुस्त राख्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *