वडाका फाइल ७ दिनभित्र टुङ्ग्याउन डंगोलको निर्देशन: ढिलासुस्ती अन्त्य र गुणस्तरीय विकास

राम्रो पालिका 1

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा कार्यालयहरूबाट केन्द्रमा सिफारिस भई आएका सबै फाइलहरूमा सात दिनभित्र निर्णय गरिसक्न सम्बन्धित विभागहरूलाई कडा निर्देशन दिनुभएको छ ।

महानगरको पाक्षिक समीक्षा बैठकमा विभागीय प्रमुख र वडा सचिवहरूसँग समस्या र समाधानका उपायमाथि केन्द्रित हुँदै उहाँले प्रशासनिक ढिलासुस्तीले जनताको काम प्रभावित हुन नहुनेमा जोड दिनुभयो ।कार्यवाहक प्रमुख डंगोलले वडा कार्यालयहरूलाई सम्बोधन गर्दै आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने होडबाजीमा नलाग्न सचेत गराउनुभएको छ । बजेट सक्ने लक्ष्य राख्नुभन्दा पनि गरिएका कामहरू दिगो र गुणस्तरीय हुनुपर्ने उहाँको तर्क थियो ।

उहाँले विकास निर्माणका कार्यमा गुणस्तरसँग कुनै सम्झौता नगर्न र वडा तहमा देखिएका प्राविधिक तथा प्रशासनिक गाँठो फुकाउन केन्द्र सधैँ तयार रहेको स्पष्ट पार्नुभयो।महानगरले कार्यालय सञ्चालन र प्रशासनिक खर्च बाहेक वडा स्तरीय क्षेत्रगत विकासका लागि वडाहरूको वर्गीकरण गरी बजेट विनियोजन गरेको छ ।

जसअनुसार विकास निर्माणका लागि ठुला वडालाई १० करोड रुपियाँ, मझौला वडालाई ७ करोड ५० लाख रुपियाँ र साना वडालाई ५ करोड रुपियाँ बजेट पठाइएको छ । यसरी विनियोजित पूर्वाधार विकास बजेटको न्यूनतम ५० प्रतिशत अनिवार्य रूपमा भौतिक पूर्वाधारमै र बाँकी ५० प्रतिशत अन्य क्षेत्रगत विकासमा खर्च गर्न सकिने व्यवस्था गरिएको छ ।

पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन महानगरले अतिरिक्त बजेटको समेत व्यवस्था गरेको छ । नियमित बजेटका अलावा थप पूर्वाधार विकासका लागि ठुला वडालाई ७ करोड, मझौला वडालाई ५ करोड र साना वडालाई ३ करोड रुपियाँ बजेट विनियोजित गरिएको छ। यो बजेटले वडा भित्रका सडक, ढल, र अन्य भौतिक संरचना निर्माणमा थप बल पुग्ने अपेक्षा गरिएको छ । भौतिक विकासका साथै सामाजिक र सांस्कृतिक क्षेत्रका लागि पनि महानगरले विभिन्न शीर्षकमा बजेट छुट्याएको छ ।

यस अन्तर्गत सामाजिक कार्य, खेलकुद, सचेतना कार्यक्रम, सार्वजनिक सुनुवाई, र सरसफाइ सामग्री खरिद जस्ता कार्यहरू समेटिएका छन् । विशेषगरी काठमाडौँको मौलिक संस्कृति संरक्षणका लागि जात्रा पर्व सञ्चालन, सिथि नखः तथा विशेष सरसफाइ कार्यक्रम र आधारभूत स्वास्थ्य तथा शिक्षा सचेतनाका लागि वडाहरूलाई उनीहरूको आकार अनुसार छुट्टाछुट्टै बजेट प्रवाह गरिएको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *